सुर्खेत । झण्डै चार दशकपछि सुर्खेतमा जग्गा धनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ। वर्षौँदेखि उपभोग गरिरहेका नागरिकले जग्गा धनी प्रमाण पत्र पाउन थालेका हुन्।
सुर्खेतमा २०३९ सालयता रोकिएको पुर्जा वितरण शुक्रवार सुर्खेतका भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकाका नागरिकले जग्गा धनी पुर्जा पाएका हुन्।
राष्ट्रिय भूमि आयोग सुर्खेतले केन्द्रीय अध्यक्ष केशव निरौला समेतको उपस्थितिमा जिल्लाका दुई सरकारी कार्यालयसहित एक सय ३८ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। भेरीगंगा नगरपालिकाका एक सय दुई र गुर्भाकोटका ३४ घरपरिवारलाई पुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए।
उनका अनुसार गुर्भाकोटमा ६५ नम्बर कित्ता र भेरीगंगामा २३३ कित्ता जग्गाको पुर्जा नेपाल सरकारको नाउँमा जारी गरिएको छ। वर्षौँदेखि जग्गा उपभोग गरेपनि आफ्नो नाममा नहुँदा विद्युत, बैंकिङ कारोवार लगायतका सेवाबाट बञ्चित हुनुपर्ने बाध्यता थियो।
अब पुर्जा पाएसँगै ढुक्कले बस्न र सेवा सुविधा उपभोग गर्न सहज हुने भेरीगंगाका अमृता सुनारले खुशी व्यक्त गरिन्। यसअघि पटक पटक भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधानका लागि आयोग गठन गरिएपनि काम हुन सकेको थिएन।