काठमाडौँ । सेयर बजार परिसूचकमा सुधार देखिएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार आजदेखि कारोबार हुँदा परिसूचक ४५ अंकले उकालो लागेको हो।
दसैंको बिदा अघि १८५३.७६ रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४.६२ अंक बढेर १८९८.३८ मा उक्लिएको छ। बजार परिसूचक ४४.६२ अंक अर्थात २.४१ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ८.७८ अंकले बढेर ३७२.२१ मा उक्लिएको छ।
बजार बढेपनि कारोबार रकम भने १ अर्ब पनि कट्न सकेन। आज २२४ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १ सय ४० रूपैयाँ बराबरको सेयर खरिद बिकी भएको छ।
उप–समूहतर्फ आजको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै फाइनान्स समूह ४.६९ प्रतिशतले बढ्यो।