विराटनगर । संखुवासभाको भोटखोला गाउँपालिकामा खाद्यान्न संकट शुरू भएको छ ।
उच्च हिमाली क्षेत्रमा पर्ने सो गाउँपालिकामा पटक–पटक हिमपात भएका कारण बाटो बन्द हुँदा खाद्यान्न संकट परेको हो । सो क्षेत्रमा मंसिरदेखि खाद्यान्न पुग्न सकेको छैन ।
हिउँ परेका कारण नेपालतर्फका बजार जाने बाटो बन्द हुँदा खाद्यान्न अभाव भएको बताइएको छ । भोटखोलाबाट किमाथांका पारि चिनियाँ बजार नजिक पर्छ । तर नाका बन्द भएकाले त्यहाँ पनि जाने अवस्था छैन ।
खाद्यान्न संकट टार्नका लागि चीन सरकारले तीन–चारपटक चामल, नुन तेल, चिनी लगायतका खाद्यान्न सामग्री भने सहयोग गरेको बताइएको छ ।
किमाथांका, थुदाम, रिदाक, हुम् मुङ लगायतका क्षेत्रका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ल्याएर जीविकोपार्जन गर्दै आएका थिए ।
२०७६ माघ ५ गतेदेखि चीन सरकारले किमाथांका नाका बन्द गरेको थियो ।