स्थायी शिक्षकका लागि परीक्षा सुरु

न्युजलय १५ चैत २०७८, मङ्गलबार ०६:३२ मा प्रकाशित

काठमाडौं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबार(आज) बाट सुरु भएको छ । 

१७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित (सामान्य) को परीक्षा  भइरहेको छ ।

त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ ।

पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ । 

१७ चैतमा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक बढुवा तर्फको परीक्षा हुने आयोगले जनाएको छ ।  

तीनै तहमा १७ हजार २३८ स्थायी शिक्षकका लागि आयोगले गत मंसिर र पुसमा विज्ञापन खोलेको थियो । 

पहिलो चरणको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवार पास हुनेछन् । उनीहरूले दोस्रो चरणको परीक्षामा सहभागी हुने मौका पाउनेछन् । आयोगले झन्डै पाँच वर्षपछि स्थायी शिक्षकका लागि विज्ञापन गरेको थियो ।