पात्रो छाप्न स्वीकृति लिनुपर्ने

न्युजलय १४ फाल्गुण २०७८, शनिवार ०१:५८ मा प्रकाशित

काठमाडौँ । नेपालमा पात्रो तथा भित्तेपात्रो छाप्नको लागि स्वीकृती लिनुपर्ने भएको छ ।

मन्त्रिपरिषद्को विसं. २०७७ पुस २० गतेको बैठकले गरेको निर्णयअनुसार भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ । समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो ।

समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई जफत गरी कारबाही गरिने पनि समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालय वा सम्पर्क नं ९८४१६८८८८९ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।