त्रिवि उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन

न्युजलय ९ माघ २०८०, मङ्गलबार ०७:१७ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले दरखास्त दिएका छन्।

खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो। उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक १७ गते प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोकेका थिए।

त्रिवि ऐन २०४९ को दफा २१ को (ख) अनुसार दैनिक कार्यसञ्चालनका लागि बढीमा तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिन मिल्छ। यो तीन महिना माघ १७ गते सकिँदैछ। त्यसअघि नै उपकुलपति नियुक्ति गर्ने तयारी छ।

उपकुलपति माग गर्दै दुई पटक विज्ञापन गरिएको थियो।

समयभित्रै ४३ जनाले आवेदन दिएका छन्। विभिन्न विश्वविद्यालयका उपकुलपति भइसकेकाहरूले पनि त्रिवि उपकुलपतिका लागि आवेदन दिएका छन्।

त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसालले पनि आवेदन दिएका छन्।