विराटनगर । विराटनगरमा झुण्डिएको अवस्थामा प्रहरी जवान मृत फेला परेका छन् ।
विराटनगर–५ घर भएका २६ वर्षीय प्रहरी जवान जितविक्रम दहालको शव आइतबार(आज) बिहान घरनजिकको भोगटेको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।
सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत दाहाललाई महिलामाथि बलात्कार प्रयास गरेको आरोप छ । सोही आरोपमा दाहालविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएको बताइएको छ ।
पछिल्लो समय उनले डिप्रेसनको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । गत पुसदेखि निलम्बनमा परेका उनी मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत भेटिएका हुन् । शवको कोसी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।