विराटनगरमा जारी ‘ट्रेड एक्स्पो’मा ६ दिनमा १५ करोडको कारोबार

न्युजलय २४ चैत २०७८, बिहिबार ०१:५० मा प्रकाशित

विराटनगर । विराटनगरमा जारी ‘ट्रेड एक्स्पो’ मा हालसम्म १५ करोड बराबरको आर्थिक कारोबार भएको छ ।


६ दिनको अवधिमा १ लाख ८० हजार जनाले एक्सपो अवलोकन गरेको र १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको मोरङ व्यापार संघले जनाएको हो ।


बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपो संयोजक विकास बेगवानीले एक दिन समय थप गरिने जानकारी दिए । “चैत १८ देखि २६ गतेसम्म एक्स्पो संचालन गर्ने तय भएकोमा एक दिन बढाउने निर्णय गरेका छौ,”बेगवानीले भने ।


मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालका अनुसार एक्स्पोमा सबैभन्दा बढी इलोक्टे«निक र अटोमावाइलको सामानहरू बढी बिक्री भएको जानकारी दिए ।


एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलर सहितका र १ सय ६ वटा सामान्य स्टल रहेको छ । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ ।


त्यस्तै अटोमोबाइलका १० स्टल रहेको छ । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिक राष्ट्रिय कलाकालहरूबाट विभिन्न प्रस्तुति दिने गरिएको छ । एक्स्पोमा भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।


आउँदो शुक्रबार गायक डम्बर नेपाली र चर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुती रहेको छ । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको छ । एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले आकर्षण थपेको छ । सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपाल सँगसँगै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको छ ।