विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको विवाद सतहमा आएको छ । दुई समुहबिच लामो समयको मनमुटाव पछिल्लो साता सतहमा आएको हो ।
अध्यक्ष मीनकुमार श्रेष्ठले एकलौटी र मनोमानी निर्णय लाद्न खोजेको भन्दै महासचिव सञ्जीव वाग्लेले आपत्ति जनाएका छन् ।
आइतबार साँझ महासचिव सञ्जीव वाग्लेले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठसहित केही सीमित व्यक्तिहरूले एकलौटी निर्णय गरेको, प्रेस युनियनको विधानको आँच आउने काम गरेको, उनकै निर्देशनमा सचिवबाट लेटरप्याडसमेत दुरुपयोग भएको भन्दै विज्ञप्ती जारी गरेका छन् ।
‘एकतर्फी र मनोमानी ढङ्गबाट गत मङ्सिर ८ गते बोलाइएको स्वघोषित सचिवालय बैठक कोठे भेलाले गरेका निर्णय र पुस १४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका बुँदा सबै खारेज गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ, ‘पुस १४ गतेको भेलाले विधान विपरीत अवैधानिक ढङ्गबाट नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिको लेटर प्याड दुरुपयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रेस युनियनको विधानतः महासचिव र अध्यक्षबाहेक अरूले लेटर प्याडमा हस्ताक्षर गर्ने अधिकार नभएको जनाउँदै ‘समावेशी सचिव’ विनय बाह्रकोटीको हस्ताक्षरमा विज्ञप्ती प्रकाशित भएको भन्दै आपत्ती जनाइएको छ ।
यस्तै, बैठकमा कोशी प्रदेशमा रहेर केन्द्रीय पदाधिकारी तथा सदस्य रहेकाहरूले पटक पटक हस्तक्षेपसमेत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
एकलौटी र मनोमानी ढङ्गले अगाडि बढ्न खोजे जुनसुकै परिणाम आउनसक्ने समेत चेतावनी दिइएको छ ।
बाह्रकोटीले हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकार महासंघको आउन लागेको निर्वाचनमा प्रभावकारी भुमिका खेल्ने, नयाँ वर्षको भित्ते पत्रिका र युनियन शाखाहरुको गतिविधि समेटिएको स्मारिका प्रकाशन गर्ने निर्णय सार्वजनिक भएको थियो ।
बाह्रकोटीले भने महासचिवलाई बोलाउँदा पनि बैठकमा नआएको बताए ।