काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेयता १६ लाख मोबाइल फोन नेपाल भित्रिएको जनाएको छ। मोबाइलको अनधिकृत आयात तथा ओसारपसार रोक्न प्राधिकरणले भदौ ३० देखि एमडीएमएस प्रणाली प्रयोगमा ल्याएको थियो।
भित्रिएको १६ लाख फोनमध्ये १० हजार ८ सय बढी मोबाइल व्यक्तिगत तवरबाट भित्रिएको छ भने आयातकर्ताहरूमार्फत १५ लाख बढी मोबाइल विभिन्न भन्सार नाकाबाट आयात भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार २९ लाख बढी मोबाइलको आईएमईआई प्राधिकरणमा रजिस्टर भएको छ। एमडीएमएस लागू भएपछि भदौ ३० गतेसम्म नेपाल भित्रिएका र सक्रिय मोबाइल फोनहरू प्राधिकरणको प्रणालीमा स्वतः दर्ता भएको बताइएको छ। नेपालमा दर्ता नभएका मोबाइल नचल्ने बताइन्छ।