इटहरी । इटहरीमा भदौ १५ गते (आज)देखि आयोजना हुने महिला उद्यमशीलता प्रदर्शनी हुँदैछ ।
उद्योग वाणिज्य संघ इटहरीको महिला समितिले आयोजना गरेको प्रदर्शनीमा पुर्वी नेपालका विभिन्न जिल्लाका साथै मधेस प्रदेश र काठमाडौबाटसमेत गरेर ७५ वटा स्टल रहने संयोजक मीना ढकालले जानकारी दिइन् ।
‘यो पटकको प्रदर्शनीलाई केही फरक बनाउने र उपलब्धीमुलक बनाउने हाम्रो प्रयास छ,’ ढकालले भनिन्, ‘त्यसैअनुसार आयोजक समिति र सबै व्यवशायीहरु उत्साहित हुनुहुन्छ ।’
व्यवशायलाई गति दिनको लागि आर्थिक मन्दीका बिचमा पनि प्रदर्शनी गर्न लागेको संघका अध्यक्ष जीवन पराजुलीले बताए । उनले घरेलु उद्योगको विकासबाट मात्रै नेपालको आर्थिक विकास हुने र विश्वव्यापी मन्दीको असर पनि कम गर्ने बताउँदै प्रदर्शनीमा आउन र व्यवशायीहरुलाई प्रोत्साहित गर्न आग्रह गरेका छन् ।
प्रदर्शनीले उद्यमी महिलाहरुलाई बजारसम्म जोड्ने हुँदा महत्वपूर्ण रहेको कोषाध्यक्ष विजया प्याकुरेलले जानकारी दिइन् । पुर्वभरीका खाद्यान्न, लत्ताकपडा, हस्तकलादेखि अन्य घरायसी सामाग्रीको उत्पादनहरुको प्रदर्शनी रहनुका साथै साँगीतिक, साँस्कृतिक कार्यक्रम र मौलिक खानाहरु समेत प्रदर्शनीको आकर्षणका रुपमा रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विष्णुनारायण डाँगीले जानकारी दिए ।
प्रदर्शनीमा रोजगारको लागि सहयोग गर्ने व्यवशायीको स्टल, स्वास्थ्य उपचारका लागि स्टलसमेत रहनेछन् ।
प्रदर्शनीको विषयमा उत्कृष्ठ टिकटक बनाउनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
यस्तै प्रदर्शनीको समापनपछि स्टलमा रहेका सबै व्यवशायीहरुको सानो भिडियो प्रोफाइल र वृत्तचित्र तथा स्मारिकासमेत प्रकाशन गरिने बताइएको छ ।
प्रदर्शनीको उद्घाटन दिउँसो १ बजे प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले गर्नेछिन् ।