काठमाण्डौँ । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा २ जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले सोमबार ७ प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला सुनाएको हो ।
उनीहरुलाई मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाइएको बताइएको छ ।
जिल्ला कारागारमा २०८० साउन २४ गते मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।
कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेह्रथुम कारागार चलान गरेको थियो ।
कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो ।
तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र ८ कैदीलाई तेह्रथुम पठाउन आदेश भएको थियो ।