इटहरी । नेकपा एमालेमा पछिल्लो समय गुट अन्त्य भएको कल्पना पार्टी कार्यकर्ताहरुले गरेका थिए ।
तर गुट विवादकै कारण पार्टीको नगर कमिटि चयन गर्न सकस भइरहेको छ यतिखेर । विभिन्न शहरहरुमा त फरक फरक कमिटिहरु पनि चयन भइसकेका छन् ।
नेकपा एमाले इटहरी उपमहानगर अधिवेशनमा पनि यतिखेर गुटको चर्को असर परेको छ । नयाँ नेतृत्व चयन गर्ने बेलामा संस्थापन ओली पक्षमै पनि विवाद देखिएको छ ।
बुधबार इटहरीस्थित लायन्सको भवनमा अधिवेशन चलिरहँदा अर्कोतिर केही नेताहरुले दुर्गा पार्टी प्यालेसमा भेला गरेका थिए । इटहरीका मेयर द्वारिकलाल चौधरी, प्रदेश सांसद लिलम बस्नेत, एमाले नेता धर्म निरौला लगायतका नेताहरु त्यसरी बसेपछि एमालेको एउटा समुहले गएर भाँडभैलो गरेको थियो ।
बन्द सत्रको अध्यक्षता नै कसले गर्ने भन्ने विषयमै पनि विवाद भइरहेको छ । त्यसमाथि झन् नयाँ नेतृत्वको त अलग विवाद छ । स्थानीय कार्यकर्ताहरु विवादले आजित बनेका छन् । बुधबार पनि सहमती हुन नसके विहीबार चुनाव हुनेछ । तर अधिकांश नेता, कार्यकर्ताहरु सहमतीकै पक्षमा रहेका छन् ।
छिमेकी नगर धरानमा दुई अलग कमिटि बनेका छन् । इटहरीको विवाद लम्बिँदै गयो भने इटहरीको पनि धरानजस्तै अवस्था हुनसक्ने विश्लेषण गरिएको छ । तर इटहरीको एउटा ठूलो युवा पंक्ति भने छुट्टा छुट्टै समिति त के अधिवेशनको कल्पना पनि गर्न चाहँदैनन् । ‘एउटै कमिटि बन्छ भने ठिक छ, नत्र कुनै गुटको कार्यक्रममा बसिन्न,’ अधिवेशनमा आएका धेरैजसो प्रतिनिधिहरुको भनाई छ ।
सहमती नभए नियमसम्मत चुनावमा जानुपर्ने प्रतिनिधिहरुको माग छ ।
यता एमालेमा मिसिन आएका पुर्व माओवादीहरुको समुह भने सहमतीमा नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् । ‘चुनावमा गयो भने वहाँहरु निर्वाचित हुने सम्भावना कम भएकोले सहमतीको अडानमा हुनुहुन्छ,’ अधिवेशनमा सहभागि एक नेताले भने ।