नयाँ प्रशासनिक भवनमा हतुवागढी गाउँपालिका

न्युजलय ३ चैत २०८२, मङ्गलबार ०६:२१ मा प्रकाशित

घोडेटार  । भोजपुरको हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ। 

गाउँपालिकाको केन्द्र घोडेटारमा निर्माण गरिएको नयाँ प्रशासनिक भवनमा शनिबार धार्मिक विधि र विशेष समारोहका बीच गृह प्रवेश कार्यक्रम गरिएको हो ।

‘समतामूलक समाज र समुन्नत हतुवागढीः कृषि, उद्योग, पर्यटन पूर्वाधार र प्रविधि’ भन्ने मूल नारासहित आयोजना गरिएको गृह प्रवेश कार्यक्रम पुरोहितद्वारा वैदिक विधिपूर्वक पूजा–आराधना गरी विधिवत् उद्घाटन गरिएको थियो । नवनिर्मित भवन सञ्चालनमा आएसँगै गाउँपालिकाबाट प्रदान गरिने प्रशासनिक सेवा अझ व्यवस्थित, छरितो र प्रभावकारी हुने पालिका अध्यक्ष प्रेमकुमार राईले बताए । 

स्थानीय पुर्वाधार विकासको साझेदारीमा गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत गरि भ्याटसहित सात करोड ५० लाख ४४ हजार लागतमा निर्माण भएको हो । दुईवर्ष भित्र काम सक्ने गरि २०८० भाद्र २२ गते ठेकेदार कम्पनी पि.एम.के.कि वेस्ट जेभीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार समयमै भवन निर्माणको काम सकिएको पालिकाले जनाएको छ ।

निर्माण सम्पन्न भवन लिफ्टसहित चार तलाको रहेको छ । स्थानीय तहको सेवा प्रवाहलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले भवन निर्माण गरिएको जनाइएको छ ।