कोशीका ९ जिल्लामा निर्वाचन प्रहरीको आवेदन म्याद थपियो

न्युजलय ३ माघ २०८२, शुक्रबार ०१:५३ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त आवेदन दर्ताको समय थप गरिएको छ।

जिल्लाका लागि निर्धारित संख्या भन्दा कम आवेदन दर्ता भएपछि दुई दिन समय थप गरिएको हो ।निर्वाचन प्रहरीमा भर्नाका लागि उमेद्वारले आवेदन दिने म्याद पुस २५ देखि माघ १ गते बिहीबारसम्मका लागि तोकिएको थियो।

तर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा बाहेकका ९ जिल्लामा निर्धारित कोटा भन्दा पनि कम आवेदन परेपछि दुई दिन म्याद थप गरिएको कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए।

कोशी प्रदेशका लागि नेपाल र सशस्त्र प्रहरीमा गरी २५ हजार ९ सय ७५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । जसका लागि बिहीबारसम्म दुवै संगठनमा जम्मा २७ हजार ५ सय ५३ जना उमेद्वारको आवेदन दर्ता भएको छ।

कोशी प्रदेशका १४ जिल्लाका लागि नेपाल प्रहरीले लिने २३ हजार ४ सय २४ निर्धारित कोटामध्ये १ हजार ९ सय ९२ जना अपुग छ । यस्तै सशस्त्र प्रहरी तर्फको २ हजार ५ सय ६१ कोटामा ९ सय १९ जना अपुग रहेको डिआइजी घिमिरेले जानकारी दिए।

सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । निर्वाचन सुरक्षा प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा पाउने जनाइएको छ ।