काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन संसद् बैठकमा नजाने भएका छन् ।
शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन भनेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले त्यसबारे प्रमुख सचेतकहरुलाई जानकारी गराएका छन् ।
विपक्षी काँग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका प्रमुख सचेतकहरुले प्रधानमन्त्री शाह नआए आज पनि संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
यसअघि बुधबार पनि प्रधानमन्त्री शाहले छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने जानकारी संसदलाई गराएका थिए । प्रधानमन्त्री जवाफ दिन उपस्थित हुनुपर्ने भन्दै विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका थिए ।