सप्तरी । सप्तरीको राजविराजमा विष सेवनबाट छोराको मृत्यु भएको छ भने आमा गम्भीर बनेकी छन् ।
सप्तरीको राजविराज नगरपालिका–१ चनौरामा एक आमाले छोरालाई विष खुवाएर आफूले समेत विष सेवन गरेकी हुन् । विष सेवनपछि चार वर्षीय छोराको मृत्यु भएको छ भने आमा गम्भीर बिरामी भएकी छन् ।
घरायसी विवाद हुँदा २५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ आफ्ना छोरा सौरभकुमार साफीलाई विष खुवाएकी थिइन् । विष खुवाउँदा सिकिस्त भएका सौरभको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष सेवन गरेकी काजलको नोबेल अस्पतालमै उपचार भइरहेको छ भने उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।