इटहरी । निर्माणको अन्तिम चरणमा पुगेको फिल्म ‘सम्हालिएको जाती’को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी सरणार्थीहरुको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाँकी ३० प्रतिशत छायांकन नेपालमा हुने बताइएको छ ।
इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभाहलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दिपक परियार, अभिनेता विक्रम विश्व र निर्देशक सन्तोष रामदामको उपस्थिति रहेको थियो ।
यस्तै, पत्रकार सम्मेलनकै क्रममा लामो समयदेखी इटहरीबाट निर्माता, लेखक तथा निर्देशकको रुपमा अनुभव बटुल्दै फिल्म उद्योगमा यहि ठाउँबाट योगदान पुर्याएको भन्दै फिल्म युनिटले कोशी भिजन फिल्मसका प्रबन्ध निर्देशक समेत रहेका लाखमान योन्जत तामाङलाई सम्मान समेत गरेको छ ।
‘सम्हालिएको जाती’ फिल्मको नेपालमा हुने छायांकनको जिम्मेवारी पनि कोशी भिजनले नै पाएको छ । झापाको शरणार्थी शिविर तथा बिराटनगर एयरपोर्ट लगायत कोशी प्रदेशका विभिन्न ठाउँमा यो फिल्मको छायांकन हुनेछ । फिल्ममा कलाकार बुद्धि तामाङको पनि विशेष भुमिका रहने बताइएको छ ।
झन्डै १ करोड लागतमा बन्ने फिल्मलाई नेपाल, अमेरिका लगायत विश्वभर रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।