काठमाडौं । ‘न दोष तिम्रो, न दोष मेरो’ बोलको गजल तपाईंले सुन्नु भएको छ रु यो गजल रेकर्ड भएको झन्डै दश वर्ष भयो । धीरज त्रिवेणीको शब्द, शिशिर साधकको संगीत र जुनु रिजाल काफ्लेको स्वरमा यो गजल काठमाडौंको प्रज्ञा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो ।
रेकर्ड भएको पाँच वर्षपछि म्युजिक भिडियो पनि बन्यो । म्युजिक भिडियोमा सबिन श्रेष्ठ र दीया मास्केले अभिनय गरेका छन् । उक्त समयमा पाउनुपर्ने जति चासो नपाएको उक्त गजल आजभोलि टिकटकमा गज्जबले छाइरहेको छ । केही समय त गायिका रिजाललाई अचम्मित नै बनायो । गीत अस्वभाविक तरिकाले चलेपछि रिजालले पुनः अर्को भिडियो बनाएर युट्युबमा राखेकी छिन् । जुन भिडियोमा पनि दर्शक स्रोताहरु झुम्मिइरहेका छन् ।
गजलको लिरिकल भिडियो र म्युजिक भिडियोहरु गायक रामचन्द्र काफ्लेको युट्युब च्यानल ‘रामचन्द्र काफ्ले’मा अपलोड गरिएको छ । गजलको टुक्रा टिकटकमा भाइरल भएपछि मूल गजल सुन्न स्रोताहरुले खोजेपछि अहिले पुनः अपलोड गरिएको गायक काफ्लेले बताए ।
को हुन् जुनु ?
खोटाङमा जन्मिएकी जुनुको परिवार विराटनगर सरेपछि विराटनगरमै उनले अध्ययन गरिन् । बाल्यावस्थादेखि नै गायन र नृत्यमा रुची राख्ने उनी ८ कक्षादेखि नै सांगीतिक क्षेत्रमा लागिन् । एसएलसी सकेर उनले क्लासिकल संगीत ४ वर्ष विराटनगरमै सिकिन् । त्यहाँ उनले मैथिलि, भोजपुरी, हिन्दी र नेपाली गीतहरुसमेत रेकर्ड गराइन् । क्लासिकल सिक्ने सिलसिलामै उनी काठमाडौं पुगिन् । त्यहाँ उनले गान्दर्भ म्यूजिक विद्यालयमा एक वर्ष सिकिन् भने पाठशालामा थप ४ वर्ष संगीत सिकिन् ।
उनले काठमाडौंमा २०६३ सालदेखि व्यवसायिक रुपमै गीत गाउन थालेकी हुन् । त्यसबेला उनले गाएको फूल मञ्जरी, फूल टिप्न मन भए, ड्राइभर दाई, सरर हावा, तिम्र्रै झल्को आउँछ मेरो परदेशी, डाँफे झै नाच्ने हिमाल झै हाँस्ने, लोक तर्फ आज गाउँमा बिजुली चम्कियो, झिम्काइदेऊ परेलीलगायतका गीत निकै चले । धेरै साँस्कृतिक कार्यक्रमहरुमा आज पनि जुनुका कुनै न कुनै गीत बजेकै हुन्छन् ।
उनी स्टेज शोका लागि अष्ट्रेलिया, युरोप, इजरायल, कतार, साउदी अरब, मलेसिया, इन्डिया, लन्डनसम्म पुगेकी छिन् भने नेपालका अधिकांश क्षेत्रमा स्टेज कार्यक्रम गरिसकेकी छन् ।
उनले हालसम्म तीन वटा बिन्दबासिनी अवार्ड (बेष्ट फिमेल भोकलिष्ट्), एउटा काब्या म्यूजिक अवार्ड, तीज म्यूजिक अवार्ड, यूगल गायन मार्फत अवार्ड प्राप्त गरेकी छन् । उनले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले लेखेको गीतसमेत गाएकी छन् ।