विराटनगर । सिरिन्ज अभावले प्रदेश १ मा खोप कार्यक्रम प्रभावित भएको छ । भेरोसेल खोप भएपनि सिरिन्ज अभाव भएको हो । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप स्टक रहेपनि सिरिन्ज अभावमा खोप कार्यक्रम प्रभावित छ ।
१० हजार वटा मात्र सिरिन्ज भएकोले चाँडो सिरिन्ज ल्याउन आवश्यक रहेको केन्द्रले जनाएको छ । मोरङ, सुनसरी र झापाबाहेक प्रदेशका अन्य ११ जिल्लामा मोडर्ना खोप चलिरहेकाले ती जिल्लामा मोडर्नाकै सिरिन्ज पर्याप्त भएकाले समस्या छैन ।
प्रदेश १ मा ३२ लाख बढीले खोप लगाएका छन् । पहिलो डोज खोप १७ लाख २९ हजार १ सय १९ जनाले लगाएका छन् । यस्तै दुवै डोज खोप १४ लाख ८८ हजार ७ सय ५५ जनाले लगाएका छन् ।
प्रदेश १ का सुनसरी, मोरङ र झापाबाहेकका ११ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप बिहीबारबाट लगाउन सुरु गरिँदै छ । १२ देखि १७ जिल्लाका बालबालिकाका लागि ११ वटै जिल्लामा संखुवासभाबाट खोप लगाउन सुरु गर्ने बताए । उनले ११ वटा जिल्लामा २ लाख ३४ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए ।