कारागारमा कैदी मृत्यु प्रकरणः आफन्तले बुझेनन् शव

न्युजलय २८ साउन २०८०, आइतबार ०२:४२ मा प्रकाशित

सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभामा कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्ना मानेका छैनन् ।

प्रहरीको कुटपिटपछि बुधबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोेद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय आकास बलामीको मृत्यु भएको थियो ।

पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि आज चार दिनपछि दुई कैदीको शवपरीक्षण भने गरिएको छ ।

पीडित पक्षसँग सहमतिपछि शनिबार दिउँसो शवपरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ । किटानी जाहेरीपछि शवपरीक्षण गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन् ।

पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाममात्र जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो नाम सार्वजनिक गरेको छ ।

अनुसान्धान टोलीले सिसिटिभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शङ्कास्पद रहेको पीडितको गुनासो छ । सिसिटिभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो ।