बलात्कृत युवतीको पहिचान सार्वजनिक गर्ने पत्रकारलाई ५ महिना जेल

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०८:०४ मा प्रकाशित

वीरेन्द्रनगर । गत जेठमा बलात्कृत भएकी युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई सुर्खेत अदालतले पाँच महिना कैद सजाय तोकेको छ ।


अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले ‘राप्ती पहिचान डट कम’ अनलाइनका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो । अदालतको फैसलामा पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरे कैद बस्न नपर्ने विकल्प पनि दिइएको थियो । उनले आफू सञ्चालक रहेको अनलाइनमार्फत क्षमायाचना गरिसकेका छन् ।


बुढाले युवतीको पहिचान खुल्नेगरी तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए । यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरुविरुद्ध स्टाटससमेत लेखेका उनलाई अदालतले सजाय सुनाएको हो ।


पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित युवतीको पहिचान खुल्नेगरी अनलाइनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।


संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशनरप्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ ।

 

गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला एक युवतीमाथि बलात्कार भएको थियो । जेठ २१ गते दुई युवती सामान किन्न आएको बेला होटलमा जबरजस्ती मदिरा सेवन गराएर युवाहरुले बलात्कार गरेका थिए ।


युवतीमाथि जबरजस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।