ओखलढुंगा । ढिलो आएको भन्दै विद्यालयमा छिर्न नदिएपछि एक छात्राले आत्महत्या गरेकी छन् ।
ओखलढुंगा चम्पादेवी गाउँपालिका–३, कालिकास्थित बालज्योति माध्यमिक विद्यालयको कक्षा ८ मा अध्यनरत छात्रा १४ वर्षीया विमला बोगटीले आत्महत्या गरेकी हुन् ।
सोमबार बिहान विद्यालयका झन्डै २० जना विद्यार्थीलाई ढिलो आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले प्रवेश गर्न दिएनन् ।
प्रार्थना सकिएपछि केहीलाई नाम टिपेर आइन्दा ढिला नआउने निर्देशनसहित भित्र जान दिए । समयमा उपस्थित नभए स्कुलबाट निष्कासन गर्नेसम्मको धम्की दिएको विद्यार्थीको भनाइ छ । त्यतिन्जेलसम्म करिब १२ छात्रछात्रा घर फर्किसकेका थिए । फर्किनेमध्येकै थिइन्, विमला बोगटी ।
घरको कोठामा पसेको केही मिनेटमै उनले विष सेवन गरिन् । विष सेवन गरेकी विमलाले चिच्याउँदै बुबालाई बोलाइन् ।
उनका बुवाले ‘कारण सोध्दा स्कुलभित्र पस्न नपाएकाले दुःख लागेको र आवेशमा आएर विष पिएको बताइन्,’ विमलाका बुबा खुर्कबहादुर बोगटीले भने, ‘त्यसपछि साबुनपानी बनाएर ख्वाएँ, घरेलु उपाय अपनाउँदै गाडी खोजेर ओखलढुंगा मिसन अस्पताल ल्याइयो ।
मंगलबार बिहान विमलाको निधन भयो । विमलाले तरकारी बालीमा लगाउने बुलेट ५०५ नामक कीटनाशक औषधि पिएकी थिइन् ।
घटनापछि खुर्कबहादुरले बुधबार जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीलाई प्रतिवादी बनाएर आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गरेका छन् । अध्यक्ष बुढाथोकीले गालीगलौज गर्दै स्कुल छिर्न नदिएपछि आत्महत्या गरेको आरोप लगाइएको छ । अध्यक्ष बुढाथोकीले आफूले ढिला आउने विद्यार्थीहरूलाई प्रार्थनाको समयमा छिर्न नदिएको स्विकारे ।
पीडितका आफन्त अध्यक्षको काम गेटमा बसेर विद्यार्थीलाई गाली गर्ने र प्रवेशमा रोक लगाउने होइन भन्दै आक्रोशित बनेका छन् ।
पीडितको उजुरी दर्ता भएपछि मृतकको शव पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ । आरोपित अध्यक्ष बुढाथोकी प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।