एक क्विन्टल १८ केजी चरेससहित तीन जना पक्राउ

न्युजलय २७ चैत २०७९, सोमबार ०७:५८ मा प्रकाशित

वीरगञ्ज । प्रहरीले पर्साबाट एक क्विन्टल १८ केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका–५ देउरीयास्थित प्रदेशी राउतको घरमा लागुऔषध चरेश रहेको सूचनाको आधारमा प्रहरी टोलीले राउतको घर तथा टहरा खानतलासी गरेको थियो।

खानतलाशीको क्रममा घरमा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागुऔषध चरेश १ क्विन्टल १८ केजी र गाँजा ४ केजी बरामद गरिएको पर्साका डिएसपी दिपक गिरीले जानकारी दिए।

चरेस र गाजा ओसारपसार तथा किन बेचमा संलग्न रहेका राउतसहित तीन जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ गरिएका अन्य दुई जनामा मकवानपुर रक्सिराङ्ग गाउँपालिका–८ बस्ने रमेश मोक्तान र मनहरी गाउपालिका–६ बस्ने रोशन मोक्तान रहेका छन्।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।