इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा कर्मचारी छनोट प्रक्रिया अनिश्चित कालका लागि स्थगित भएको छ । ६ महिना अघि जारी सूचना अनुसार कर्मचारी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले अन्दोलन गर्दै आएका थिए । लामो समयको मौनता तोड्दै क्याम्पसले अख्तियारबाट छानबिन नसकिएसम्म कर्मचारी छनोट प्रक्रिया स्थगित गर्ने जनाएको हो ।
विद्यार्थी संगठनका नाममा पत्र जारी गर्दै क्याम्पसले पदपूर्ती सम्बन्धि विषयमा अख्तियार दूरुपयोग अनुसन्धानमा सम्पूर्ण कागजात पठाउने र आयोगबाट निर्देशन प्राप्त नभएसम्म पदपूर्ती स्थगित गर्ने जनाएको हो । पदपूर्ती प्रक्रियाको विषयमा अख्तियारमा परेको मुद्दामा कागजात पठाउन विद्यार्थी संगठनहरुको तालाबन्दीले गर्दा नसकेको क्याम्पसले जनाउँदै आएको थियो । अख्तियारले नै उक्त विषयको छिनोफानो गर्ने भन्दै क्याम्पसले ताला खोलेर सहयोग गरिदन समेत विद्यार्थी संगठनसंग आग्रह गरेको छ ।
यता विद्यार्थी संगठनले पनि ताला खोल्ने जनाएका छन् । पदपूर्ती प्रक्रियामा अनियमितता भएको र सो प्रक्रिया खारेज गर्नुपर्ने माग गर्दै आएका विद्यार्थी संगठनहरुले आफूहरुको माग आंशिक पुरा भएको जनाएका छन् । अनेरास्ववियुका नेता उज्जवल सिग्देलले विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा लगाएको ताला भोलि खोलिदिने जानकारी दिएका छन् ।
क्याम्पसको यो पत्रसँगै क्याम्पस प्रशासन र विद्यार्थी संगठन बिच ६ महिना देखिको तनाव मथ्थर हुने अनुमान गरिएको छ । विद्यार्थीको आन्दोलनका कारण क्याम्पसको शैक्षिक गतिविधि समेत प्रभावित बन्न थालेको थियो ।