अवरद्ध इटहरीको नगरसभा बैठक सम्पन्न

न्युजलय २७ चैत २०७९, सोमबार ०८:४७ मा प्रकाशित

इटहरी । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेपछी अवरुद्ध भएको इटहरी उपमहानगरपालिको नगरसभा बैठक तीन सातापछि आज सात वटा विधेयक पारित गर्दै सम्पन्न भएको छ । विधेयक पास गर्ने बिषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले असन्तुष्टी जनाउदै बहिष्कार गरेपछी १२ औं नगरसभा अनिश्चितकालको लागि स्थगित भएको थियो । 

फागुन २७ गते १२ औं नगरसभाको पहिलो बैठक सम्पन्न भएको थियो । चैत ३ गते दोस्रो बैठक बहिष्कार गरेपछी अनिश्चित बनेको हिउँदे नगरसभा दुई पक्षीय सहमतिपछि सोमबार सकिएको हो ।

नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उप–महानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्रि बजार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र बजार अनुगमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो ।

नगरसभामा नगर खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ छलफल पश्चात सर्वसम्मत पारित गरिएको हो । पारित भएका विधेयकमध्ये कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा एमालेबाट विजयी जनप्रतिनिधीले असन्तुष्टि जनाएका थिए । तर, सोमबार बसेको कार्यपालिका बैठकले अघिल्लो पटक असन्तुष्ट जनाएको कुनै पनि कुरालाई विना संशोधन सहज ढंगले पारित गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।