श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

न्युजलय २९ मङ्सिर २०८२, आइतबार ०२:५१ मा प्रकाशित

संखुवासभा । संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मादी नगरपालिका–६ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन्।

आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोपमा  उनी पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएका थिए।

निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।

सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकारेका हुन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको छ।