विराटनगरबाट प्रहरीको नक्कली घुमुवा पक्राउ

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ११:२३ मा प्रकाशित

विराटनगर । विराटनगरमा प्रहरीको ‘घुमुवा हुँ’ भन्दै लागुऔषध प्रयोगकर्ताहरुसँग पैसा उठाउन खोज्ने एक जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको नाम बेच्दै ‘नक्कली घुमुवा’ बनेर लागुऔषधका दुव्र्यसनीसँग रकम ‘बार्गेनिङ’ गर्दै गर्दा विराटनगर –१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङ पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका अनुसार लागुऔषध सेवन गर्नका लागि भारतको जोगवनीतिर जाने गरेका विभिन्न व्यक्तिहरुसँग चेम्जोङले तीन लाख रूपैयाँ मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

अनुसन्धान र कारबाही अघि बढाउन उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । चेम्जोङविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउनलाई प्रहरीले आइतबार म्याद थपको तयारी गरेको छ ।