इलाम । इलामको सूर्योदय नगरपालिका–७ पाल्टाङगेमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटनामा बिर्तामोड–५ का ५० वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुले अचानक ब्रेक लगाउँदा पछाडि सवार चौधरी सडकमा लडेका थिए।
सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। घाइते मोटरसाइकल चालक साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ।
प्रहरीले ट्रक र चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ का ३० वर्षीय हरी नारायण सुवेदीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।