दुई वर्षमा पनि बनेन इटहरीको ‘स्मार्ट सौचालय’, अब कहिले बन्ला ?

शंकर खत्री १५ मङ्सिर २०७८, बुधबार ०७:२५ मा प्रकाशित

इटहरी । इटहरीमा सुविधा सम्पन्न सार्वजनीक सौचालय नभएको कुरा वर्षौँदेखि उठ्दै आएको छ । यहि विषयलाई ध्यान दिएर इटहरी उपमहानगरपालिकाले २०७६ साल पौष २४ गते सिलन्यास गरेर सुरु गरेको ‘स्मार्ट सौचालय’को काम अहिले अन्यौलमा परेको छ । इटहरीमा हुने अधिकांस चुनावको नारामा इटहरीमा सार्वजनीक सौचालय बनाउने विषय प्राय पहिलो प्राथमकितामा नै पर्ने गर्दछ । चुनावी घोषणा पत्रको पहिलो बुँदा नै सार्वजनीक सौचालय बनाउने विषय बन्छ । तर, पुरा भने कसैले गर्दैन । स्थानीय तह, प्रदेश र संघिय चुनावमा मात्रै होइन उद्योग वार्णिज्य संघ इटहरीको चुनावमा पनि सौचालयको विषयले विशेष स्थान लिएको देखिन्छ, घोषणा पत्रमा । तर बनाउने तर्फ भने कसैको ध्यान गएको पाइँदैन ।


स्थानीय तहको निर्वाचनपछि द्वारिकलाल चौधरीको नेतृत्वमा बनेको इटहरी उपमहानगरपालिकाको नेतृत्वले कथनीलाई करणीमा रुपान्तरण गर्ने अठोट गरे । र, उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा २०७५ साल भदौ ९ गतेसंयोजकत्वमा एक समिति बन्यो । इटहरीमा ‘शौचालय निमार्णको लागि जग्गा खोज्ने र सम्भाव्यता अध्ययन गर्ने’ भनी ७ सदस्य समिति बन्यो । त्यो समितिमा वडा नं ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई, ६ का दीपक गौतम, ९ का भूपेन्द्र बराल, शाखा अधिकृत विजय मगर, वरिष्ठ इञ्जिनियर अर्जुन दाहाल सदस्य छन् । यस्तै समितिको सदस्य सचिवमा उपमहानगर वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी सदस्य सचिव छन् ।


त्यो समितिको १६ महिनाको कसरत पछि २०७६ साल पौष २४ गते सौचालयको काम आरम्भ भयो । तर, दुई वर्ष बितिसक्न लाग्दा पनि काम सम्पन्न भएको छैन । उपमहानगरले भने सौचालयको काम अलपत्र पर्नमा आफ्नो कुनै दोष नरहेको भन्दै पन्छिएको छ । ‘हाम्रो कारणले ढिला भएको होइन’, उपमेयर गौतमले भनिन्, ‘सौचालय निर्माण गर्न थालेको दुई वर्ष भयो । ६ महिनामा सकिने कार्यदेश हो । हामीले ठेक्का लगायौँ । ठेकेदारले सानो सानो पेटि ठेक्का लागउँदो रहेछ । जग खन्ने काम एउटाले गर्छ, ढलाईको काम एउटाले गर्छ । कुन ठेकेदारसँग मुख्य ठेकेदारको के समस्या भयो । मुल ठेकेदारले अहिले काम छोडेर बसेको अवस्था छ ।’ 


अन्य ठेकेदारको वहाना देखाउँदै कामबाट पन्छिएकाले ठेकेदारलाई त्यसो नर्गन निर्देशन दिइएको उनले जानकारी दिइन् । काम समयमै नसके कालो सूचिमा राख्ने भनेपछि अहिले काम प्रारम्भ भएको उनको भनाइ छ । अझै काम सक्न ४ महिना जति लाग्ने उनि बताउँछिन् । तर उनको यो जवाफ गैरजिमेवारपूर्ण भएको नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीको तर्क छ । ‘यो सौचालय बनाउन थालेको दुई वर्ष भयो । कहिले ठेकेदार भागेको भन्ने सुन्छौँ, कहिले के सुन्छौँ’, अध्यक्ष केसीले भने, ‘तर नगरपालिकाले ठेक्का लाएको कुरामा ठेकेदार भागो भन्ने सुन्दा त अचम्म लाग्छ ।’


प्रदेश १ का १४ जिल्लासँग सडक सञ्जालद्वारा प्रत्यक्ष सम्बन्ध जोडिएको इटहरीमा एउटा पनि सार्वजनीक सौचालय नहुनु दुखद भएको उनको भनाइ छ । जसका कारण इटहरीका आम नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । ‘सास्ति पाउने जनताले हो’, उनले भने, ‘चौकमा एउटा पनि ट्वाइलेट छैन । कम्तिमा एउटा मात्रै भए पनि सौचालय बन्यो भने जनतालाई सहज हुने थ्यो ।’ अहिलेको कामको रफ्तारले आफू सौचालय बन्छ भन्ने कुरामा विस्वस्त नरहेको उनको भनाइ छ । चुनावी एजेण्ड बनेको सौचालयको विषयले आगामी चुनावमा पनि घोषणा पत्रमा स्थान पाउने उनको भनाइ छ । ‘अब मलाई यो बन्छ जस्तो लाग्दैन, अहिलेको कार्यकालमा चाहिँ’, अध्यक्ष केसीले भने, ‘सौचालय चाहिँ इटहरीका लागि चुनावि एजेण्डको मसला हो जस्तो लाग्छ मलाई । 


निर्माण सुरु भएको दिन उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ‘यही आर्थिक वर्ष ९आ।व २०७६/०७७० मा शौचालय निर्माण सम्पन्न हुनेछ’, भनेका थिए । अहिले आ।व २०७७/०७८ पनि सम्पन्न भएर आ।व २०७८/०७९ सुरु भएको छ । तर यो शौचालयले पूर्णता भने पाएको छैन । शौचालय अत्याधुनिक स्मार्ट र वायो प्रविधिको हुने भएकोले त्यहाँबाट उर्जासमेत निकाल्न मिल्ने बताइएको थियो । अहिले शौचालय निर्माण नै दुर्घटनामा परेकाले त्यसबाट उर्जा निकाल्ने कुरा त राम जाने १ अझ शौचालयमा सेन्सर प्रविधि जडान गरिने कुरा त नगरेकै बेस भन्नुपर्ने अवस्था आएको छ ।