विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा कोशी प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका ६५ जनालाई छाडिएको छ ।
कोशी प्रदेश सभा घेराउका क्रममा पक्राउ परेका २१ जनालाई भने प्रहरीले थप अनुसन्धानका लागि भन्दै नियन्त्रणमा राखेको छ ।
कोशी प्रदेश नामकरणपछि बसेको पहिलो अधिवेशनलाई अवरोध गर्ने भन्दै नामकरणको विरोधमा आन्दोलनरत विभिन्न सङ्घ संस्था र पार्टीहरूले आइतबार कोशी प्रदेश सभा घेराउ गर्ने कार्यक्रम तय गरेका थिए ।
आन्दोलनका लागि बिभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरूलाई प्रहरीले आइतबार बिहानैबाट बिराटनगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्ये ६५ जनालाई छाडिएको किराँत राई यायोख्खाका उप महासचिव अर्जुन जम्नेली राईले बताए । पक्राउ परेका २१ जनालाई भने नछाडिएको उनले बताए । प्रहरीले किराँत राई यायोख्खाका अध्यक्ष जीवन हाताचो राई लगायतका नेताहरूलाई बिहानै नियन्त्रणमा लिएको थियो ।
दिउँसो प्रदेश सभा अगाडि भएको प्रदर्शनमा ढुंगामुढा गर्नेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनका क्रममा १७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रदर्शनकारीको ढुगा मुढा प्रहारबाट नेपाल पुलिसका २० जना, सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् ।
तोडफोड र ढुंगामुढामा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ९० सेल अश्रुग्याँस प्रहार भएको प्रहरीले जनाएको छ ।