उदयपुर । खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृति दिएको छ ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने सुनकोशीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न स्वीकृती दिएको हो ।
लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बङ्लिाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् ।
अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच छलफल भएको छ ।