एसियन हाइवेमा इटहरी हिस्स : सपना ‘फ्लाइ ओभर पुल’को, बन्ने भयो ‘बाँध’

हिमाल दाहाल २६ चैत २०७९, आइतबार १२:११ मा प्रकाशित

इटहरी । महेन्द्र राजमार्गलाई एसियन हाइवेमा जोड्नका लागि काँकटभिट्टासम्मको सडक विस्तारको काम सम्पन्न भइसकेपछि पुर्वको व्यापारिक नगर इटहरी पनि उत्साहित थियो । खासगरी उक्त हाइवेलाई इटहरीमा फ्लाइ ओभर बनाएर लगिन्छ र त्यसले नगरको सौन्दर्यसमेत बढाउँछ भन्ने आशा गरिएको थियो ।

तर इटहरीवासीको त्यो आशा निराशामा परिणत हुने भएको छ । किनकी इटहरीको मुख्य चोकमा बाँध बनाएर सडक लाने तयारी गरिएको छ । 

टेङ्ग्रा खोलादेखि पश्चिम खेती खोलासम्म करिब पाँच सय मिटर लामो बाँध बन्नेछ । बाँध माथिबाट सडक जानेछ । बिचमा कोशी राजमार्गको लागि पुल बनाइनेछ । जसबाट उत्तरदक्षिण सवारी सहजै पास हुनेछन् । त्यसो त मानिस तथा सवारी साधन ओहोरदोहोर गर्न मिल्ने गरी बिच बिचमा पुलसमेत बनाइनेछ । तर त्यो बाँधले इटहरीलाई उत्तर र दक्षिण गरी दुई भागमा विभाजन गर्नेछ ।

जसको असर यहाँको व्यापार व्यवशाय र सौन्दर्यिकरणमा प्रत्यक्ष देखिने आशंका गरिएको छ । त्यसका साथै सौन्दर्यीकरणमा क्षतीसमेत हुने देखिन्छ भने फ्लाइ ओभर बन्दा फ्लाइ ओभरको तल बिच भागमा उपलब्ध हुने खाली भागमा पार्किङ गर्न सकिने सम्भावनासमेत सिद्धिनेछ । त्यो ठाउँ उपलब्ध भएमा पार्किङको लागि नगरले राम्रो स्पेस पाउने सम्भावना छ ।

हाइवेको अहिले ठेक्का लाग्न लागेको संरचनाले इटहरीलाई आर्थिक क्षति हुने भन्दै इटहरी उपमहानगरले आयोजनालाई डिजाइन परिमार्जन गर्न आग्रह गरेको थियो । तर आयोजनाले धेरै लगानी लाग्ने भन्दै परिमार्जन गर्न असम्भव रहेको पत्र पठाएको छ । 

तर इटहरीका मेयर हेमकर्ण पौडेलले भने फ्लाई ओभर नै बन्नुपर्नेमा जोड दिएका छन् । उनले यता इटहरी उपमहानगरपालिकाले हाइवेको अहिलेको डिजाइन परिवर्तन गर्न ताकेता गरिरहेको छ । इटहरी पुर्वमै व्यापार तथा बसोबासका लागि तीव्र वृद्धि गरीरहेको शहर भएकोले अन्य शहरजस्तो इटहरीलाई व्यवहार गर्न नहुने मेयर हेमकर्ण पौडेलले बताएका छन् । ‘डिजाइन परिवर्तन हुनुपर्छ र इटहरीबाट बाँध होइन, फ्लाइ ओभर जानुपर्छ,’ उनले भने, ‘त्यसको लागि इटहरी उपमहानगरपालिका नागरिकहरुसँग मिलेर आन्दोलनसम्म पनि जान सक्छ ।’

यता नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले पनि फ्लाइ ओभर नै बन्नुपर्ने बताएका छन् । उनले त्यसको लागि नागरिक तहमा क्याम्पेनिङ पनि सुरु भएको बताए । ‘फ्लाइ ओभर नै अनिवार्य बनाउनुपर्छ,’ उनले भने, ‘त्यसको लागि ढिलो हुनुअघि नै विरोध जनाउनुपर्छ ।’ उनका अनुसार यो विषयलाई ढिलो हुनुअघि नै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमा इटहरीका जनप्रतिनिधिहरुले लबिङ गरिहाल्नुपर्छ । उनले विकास जनताका लागि भएको बताउँदै विकासको नाममा विनाश गर्न नहुनेमा जोड दिएका छन् ।

इटहरीका नवीन श्रेष्ठले समेत यो विषय निकै अघिदेखि आफूले सुनेको बताउँदै अहिलेसम्म इटहरीले त्यसको विरोध नगर्नु अचम्मको कुरा भएको बताएका छन् । ‘तुरुन्त विरोध गर्नुपर्छ,’ उनले भने, ‘यो त इटहरीलाई तहसनहस गर्ने कुरा हो ।’

यस्तो बन्दैछ एसियन हाइवे

 झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६ किलोमिटर लामो चार लेन सडक निर्माणको लागि यतिखेर ठेक्का आह्वान गरिएको छ । आयोजना कार्यालयका अनुसार उक्त सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । उक्त सडक खण्डभित्र ६ वटा पुल पर्नेछन् । 

तीन वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएपनि पाँच वर्षसम्म लम्बिन सक्ने अनुमान गरिएको छ । सडक विस्तारमा पर्ने सबै जग्गा सडककै भएको कारण जग्गा अधिग्रहण लगायतका झन्झट छैन । तर एसियाली विकास बैंकको लगानीमा बन्न लागेको सडकको लागि बैंकसँग सम्झौता नभइसकेकोले अर्को वर्षदेखि मात्र काम सुरु हुने अनुमान गरिएको छ ।

सुनसरी, मोरंग र झापा गरी तीन जिल्ला भएर जाने यो सडक खण्डको अधिकार क्षेत्र ५० मिटरको हुनेछ । आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने छन् ।

दुवै साइडमा सर्भिस रोड बनाइनेछ भने शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण गरिनेछ ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन् । सडकखण्डमा आकाशेपुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ ।

आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।