विराटनगर । एसईई दिने नक्कली परिक्षार्थीहरुले ४० हजार रुपैयासम्म लिएर पास गराइदिने ठेक्का लिने गरेको पाइएको छ । विहीबार मोरङबाट पक्राउ परेका १९९ जनामाथि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा मोरंग प्रहरीले यस्तो जानकारी पाएको हो ।
एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आउँदा मोरंगको विभिन्न परिक्षा केन्द्रबाट पक्राउ परेका थिए । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी पकाउ परेका छन् । त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको छ । एकै दिन एकै जिल्लाबाट यति धेरै नक्कली परिक्षार्थी पक्राउ गरेको यो पहिलो घटना हो ।
‘प्रवेश पत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोध्दा भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको पत्ता लागेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए ।
नक्कली परीक्षार्थीहरू कन्सल्टेन्सीले परिचालन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खुल्ला तर्फका परीक्षार्थीहरूले कन्सल्टेन्सीबाट दैनिक ७ सय देखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको बताएका छन् । कन्सल्टेन्सीले भने प्रतिविद्यार्थी ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ ।
पक्राउ परेका नक्कली परीक्षार्थीहरुले दिएका सबै परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाइ मोरङले जानकारी गराएको छ । यसपटकको एसईईमा बिहीबारसम्म पाँच वटा विषयको परीक्षा भएको छ । नेपाली, अंग्रेजी, गणित ,विज्ञान र सामाजिक विषयको परीक्षा भएको छ ।
मोरङमा ७ वटा विद्यालयमा खुल्ला विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ । जसमा १ हजार ३२ विद्यार्थी सहभागी छन् ।