झापा । झापाको गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन् ।
गत कार्तिक ११ गते बिहान ११ बजे देखी हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरू देखिएपछि हुसेनको हत्या गरेको हुन सक्ने आशङ्कामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेप्टी ट्याङ्की भित्र दुर्गन्धित अवस्थामा हुसेन मृत फेला परेका थिए ।
घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाण योग्य बस्तुहरु प्रहरीले बरामद गरेको छ । हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।