फर्जी मत हाल्न खोज्दा क्षेत्रीय सभापति तामाङ पक्राउ

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०७:०२ मा प्रकाशित

इटहरी । नेपाली काँग्रेस सुनसरी जिल्ला अधिवेशनको निर्वाचनमा फर्जी मत हाल्न खोज्दा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ पक्राउ परेका छन् । धरानका १५ का क्षेत्रीय प्रतिनिधि भवानी ओझाको नामको मत आफै हाल्ने प्रक्रिया मिलाउँदै गर्दा उनी पक्राउ परेका हुन् ।


ओझा आफ्ना बुबाको निधन पछि किरियामा रहेका बेला तामाङ आफैले मत हाल्न खोजेका थिए । सोही क्रममा धरान १५ का क्षेत्रीय प्रतिनिधि सन्दीप सुवेदी र अर्का क्षेत्रीय प्रतिनिधि राजेश अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।


तामाङ सुनसरी क्षेत्र नम्बर १ का नवनिर्वाचित सभापति हुन् । संस्थापन इतर प्यानलका उनी सुनसरी सभापतिमा केदार भण्डारीको पक्षमा छन् । सुनसरीमा संस्थापन पक्षका सञ्जय श्रेष्ठ र इतर पक्षका भण्डारी बिच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।


यता तामाङले भने धरान १५ का क्षेत्रीय प्रतिनिधि भवानी ओझा आफ्ना बुबाको निधन पछि किरियामा बसेकोले आफ्नो क्षेत्रको सभापतिको हैसियतमा मिल्छ भने मतदान गर्न गराउन भनेकोले मतदान अधिकृतसँग प्रक्रिया बुझेको मात्रै बताए ।


मतदान अधिकृतसँग बुझ्दा नमिल्ने भनिएपछि आफूले मत नहालेको बताए।