सिटिजन्स बैंक लुट्ने ४ जना पुर्पक्षका लागि जेल चलान

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०८:५३ मा प्रकाशित

विराटनगर । दुई महिना अघि सीमावर्ती मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बीपी चोकको सिटिजन्स बैंकको शाखामा भएको लुटमा संलग्न एक नेपालीसहित चार जना आइतबार साँझ जेल चलान भएका छन् ।बैंक लुटेको आरोपमा पक्राउ परेका रोशन यादव, विजय सहनी, श्याम मुखिया र सुनील यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।


लुटेको २४ लाख ८५ हजार ३ सय ९३ रुपैयाँसहित फरार ७ भारतीय नागरिक अझै पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धान अनुसार उनीहरु भारत विहारको अररियामा लुकेर बसेका छन् ।


लुटलगत्तै मुख्य योजनाकार विराटनगर–८, बलुवाहीका ३२ वर्षीय श्याम मुखियासहित तीन र केही दिनपछि थप एक जना पक्राउ परेका थिए । लगातार तीन दिनसम्म चलेको बहसपछि जिल्ला अदालतले पक्राउ परेकाहरुलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको मोरङ प्रहरीका अनुसन्धान अधिकृत डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार हालसम्मको अनुसन्धानमा एक नेपालीसहित ११ जनाको संलग्नताको खुलासा भएको छ । जसमध्ये मुख्य योजनाकार एक नेपाली र तीन भारतीय पक्राउ परिसकेका छन् ।


प्रहरीका अनुसार लुटमा संलग्न विरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योग, डाँका, हातहतियार एवं खरखजाना तथा लागूऔषधमा मुद्दा चलाइनेछ ।


रकमसहित फरार ७ भारतीय लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

 

पक्राउ परेका र फरारमध्ये केही लुटेराहरु पारि पनि ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीले पहिलेदेखि खोजिरहेको थियो । प्रहरीका अनुसार फरारहरु सीमा वारिपारि नै निगरानीमा छन् ।


लुटेरा समूहले २२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्ट र २५ असोजमा उक्त बैंक लुटेका थिए । प्रहरीका अनुसार उनीहरुले बैंकबाट करिब २५ लाख रुपैयाँ, एक मोबाइल र गार्मेन्टबाट १२ हजार रुपैयाँ एवं ४ मोबाइल लुटेका थिए ।