२०७८ साल माघ ६ गते बिहिबार

आत्मनिर्भर बन्दै एसओएस, प्राविधिक शिक्षा पढाइ हुने

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०७:०१ मा प्रकाशित

इटहरी । इटहरीस्थित एसओएस हर्मन माइनर स्कुलले प्राविधिक शिक्षा पनि पढाउने भएको छ । बद्लिँदो समयअनुसार प्राविधिक शिक्षालाई प्राथमिकता दिएको स्कुलले शुक्रबार एसओएस टेक्निकल सेन्टर भवनको शिलान्यास गरेको छ । 

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले भवनको शिलान्यास गरेका हुन् । अढाई करोड लागतमा बन्ने ८ कोठे भवनको लागि प्रदेश सरकारले ४० लाख रुपैया दिएको छ । कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले स्कुललाई अर्को आर्थिक वर्षमासमेत बजेट विनियोजन गर्ने आश्वासन दिए । 

कार्यक्रममा स्कुलका प्रिन्सिपल शान्तीराम तिम्सिनाले संस्थाको साथै बन्न लागेको भवनका विषयमा जानकारीसहितको मन्तव्य राखेका थिए । स्कुललाई इटहरी उपमहानगरपालिकाले वार्षिक पाँच लाख रुपैया दिँदै आएको र त्यसबाहेक अन्य स्रोत नभएको र वार्षिक घाटा बजेट रहेको समेत उनले बताए । सन् २०२२ सम्म मात्र स्कुलले अन्तर्राष्ट्रिय सहायता पाउने र त्यसपछि संस्था आफै सञ्चालन हुनुपर्ने अवस्थामा स्कुल सञ्चालनको दीगो स्रोतको खोजी गर्न आवश्यक रहेको बताए । 

अध्यक्ष देवचरण चौधरीले सहयोगका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग आग्रह गरे । उनले भने, ‘हामीलाई अनुदान नदिनुहोस्, बरु आत्मनिर्भर बन्न सहयोग गर्नुहोस् ।’

अहिले स्कुलमा २०० बढी विद्यार्थीहरु त्यही आश्रय लिएर पढिरहेका छन् भने थप ४०० विद्यार्थी सशुल्क अध्ययनरत छन् । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदी लगायतले बोलेका थिए ।