भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिहीबार एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण गरिएको छ । उनीहरुमा आफन्तबाट प्राप्त मृगौला प्रत्यारोपण गरिएको हो ।
केन्द्रले यस वर्ष ९ सय जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ । प्रत्यारोपित व्यक्ति तथा अंगदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै केन्द्रले मुलुकमा लाइभ डोनरबाट एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो घटना रहेको समेत दाबी गरेको छ ।
हाल मुलुकमा करिब ६ सय जना मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छन् । सातामा ६ देखि ८ जनाका हिसाबले वार्षिक करिब २ सयभन्दा बढीमा मिर्गौला प्रत्यारोपण भइरहेको केन्द्रले जनाएको छ । केन्द्रले मात्र माग धान्न नसक्ने हुँदा सातै प्रदेशमा प्रत्यारोपण विस्तारको योजनाअनुसार असार ९ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा सुरु भइसकेको केन्द्रको भनाइ छ ।