झापा । झापाको गौरादह नगरपालिका– १ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा २४ करोडभन्दा बढी रकम ठगेर फरार भएका छन् ।
गौरादह बजारमा दुई दशकदेखि सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्मा गौरादह– १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको नाममा पत्र लेखेर एक सातादेखि फरार भएका हुन् ।
बिहीबारसम्ममा उनीबाट ठगिएका चार सय ३७ जनाले करिब २४ करोडभन्दा बढी ठगेको दाबी गरेर वडा कार्यालयमा निवेदन दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।
सोमराजले कोरोनाका कारण लकडाउन हुँदा र अहिलेको आर्थिक संकटका कारण व्यवसाय गर्नै नसक्ने गरी डुबेको वडाध्यक्ष भण्डारीलाई लेखेको पत्रमा उल्लेख गरेका छन् । उनले धेरै साहुलाई साँवाभन्दा ब्याज बढी तिरेको पत्रमा लेखेका छन् ।
१४ असारदेखि सोमराज परिवारको समेत सम्पर्कमा नरहेको वडाध्यक्ष भण्डारीले बताए । उनले महँगो ब्याजको लोभ देखाउँदै स्थानीयसँग रकम ऋणमा लिएका थिए । लिएको ऋण तिर्न नसकेपछि उनी पत्र लेखेर फरार भएका हुन् ।
फरार भएपछि प्रहरीलाई सोमराजको खोजी गर्न वडाले पत्र लेखेको उनले बताए ।
पीडितले दिएको निवेदनका आधारमा गौरादह नगरपालिकाको न्यायिक समितिले पनि प्रक्रिया अघि बढाउने भएको छ । न्यायिक समिति संयोजक तथा उपप्रमुख जलवर्षा राजवंशीले सर्वदलीय बैठक पनि बसेको र शुक्रबार न्यायिक समितिको बैठक बसेर प्रक्रिया अघि बढ्ने बताइन् ।