नक्कली बाबु बनेर धेरैलाई नागरिकता दिलाएको आशंकामा लेटाङबाट भूतपूर्व बेलायती सैनिक पक्राउ

न्युजलय ५ असार २०८०, मङ्गलबार १२:३८ मा प्रकाशित

विराटनगर ।  मोरङको लेटाङबाट १ जना भूतपूर्व बेलायती सैनिकलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार(आज) बिहान प्रहरीले लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो । 

नक्कली बाबु बनेर धेरै जनालाई नेपाली नागरिकता दिलाएको आशंकामा अनुसन्धानका लागि लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट लिम्बूले मोरङसहित अन्य जिल्लाका व्यक्तिहरुलाई नक्कली नागरिकता बनाइदिएको पत्ता लागेको छ । नक्कली बाबु बनेर उनले कति जनालाई नागरिकता बनाइदिएभन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको प्रहरी स्रोतले बतायो । 

प्रहरीका अनुसार पक्राउ परेका लिम्बू बेलायतका अवकाश प्राप्त सैनिक हुन् । बेलायती सैनिकमा भर्ना गरिदिने आश्वासन दिँदै आफू बाबु बनेर अन्य व्यक्तिहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोप उनीमाथि लागेको छ ।

लेटाङबाटै पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय ल्याइँदै छ ।