शिक्षामा नमुना बन्दै जनता : एसइइमा उत्साहजनक नतिजासँगै ११ मा विद्यार्थीको भीड

न्युजलय २४ असार २०८०, आइतबार ०५:०३ मा प्रकाशित

इटहरी । छोटो समयमा पुर्वाधार र शैक्षिक गुणस्तरमा उत्साहजनक नतिजा ल्याउन सफल भएको इटहरीस्थित जनता माविको कक्षा ११ को भर्नामा विद्यार्थीहरुको भीड लागेको छ । 


विद्यालय व्यवस्थापन समितिको सुझबुझपूर्ण नेतृत्व सफल रहँदा विद्यालयले प्रगती गरेको हो । निजी स्कुल छोडेर अभिभावकले आफ्ना छोराछोरीलाई जनता माविमा भर्ना गराउन खोजिरहेका छन् । विद्यार्थीको चाप धेरै भएपछि विद्यालयले इन्ट्रान्स परिक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरेको छ । 


केही वर्षअघिसम्म रुग्ण रहेको इटहरीको सबैभन्दा पुरानो स्कुलमध्येको एक जनता मावि विगत पाँच वर्षयता प्रगतीको सिँढी चढिरहेको छ । 


विद्यालयमा व्यवस्थित कक्षाकोठामा प्रविधिको उच्चतम प्रयोग गरेर डिजिटल बोर्डमा अध्यापन गर्न पाउँछन्, सबै शिक्षकहरुले स्नातकोत्तर गरेका छन्, विद्यालयमा नेपाली र अंग्रेजी पढाउने छुट्टै छुट्टै दुइ वटा ब्लकहरु छन् । विद्यार्थीहरुले पढ्नै पर्ने महत्वपूर्ण किताबहरु भएको पुस्तकालय, कम्प्युटर ल्याब, आफ्नै ३ वटा स्कुल बस भएको जनता माविमा अहिले तीन हजार पाँच सय भन्दा धेरै विद्यार्थी छन् भने शिक्षक कर्मचारी गरेर डेढ सय बढी आबद्ध छन् ।


हरेक कक्षाकोठमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । शिक्षाको मनिटरिङ कोठाबाटै हुने गरेको प्रिन्सिपल पशुपति सिग्देल बताउँछन् । 


यसपालीको एसईई परीक्षामा सहभागि २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका छन् । 


नतिजा पछि खुलेको प्रवेश परीक्षामा फाराम भर्नेको घुइचो लागेको छ । विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाई हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको सिग्देलले जानकारी दिए । 


विद्यालयलाई नमुना बनाउन आफूहरु लागिपरेको समितिका अध्यक्ष काशीनाथ दंगाल बताउँछन् । उनले विद्यालयको पुर्वाधार निर्माण हुने क्रममा रहेकोले आगामी वर्षहरुमा अझ धेरै विद्यार्थीलाई भर्ना लिन सक्ने बताएका छन् । उनले अहिले विद्यार्थी र अविभावकको पहिलो रोजाइको विद्यालय बनेको भन्दै सरकारलेसमेत विशेष चासो दिएर सहयोग गरिरहेको बताए ।