भोजपुरको हतुवागढी र आमचोकमा नागरिकता शिविर

न्युजलय १८ चैत २०८२, बुधबार ०३:५१ मा प्रकाशित

भोजपुर । स्थानीय स्तरबाट नै जनतालाई सेवा सुविधाहरु उपलब्ध गराउने उदेश्यले जिल्लाको दक्षिणी क्षेत्रमा नागरिकता र राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरिने भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यलय भोजपुरले एक विज्ञप्ति जारी गर्दै हतुवागढी गाउँपालिकामा चैत्र १९ देखि २१ र आमचोक गाउँपालिकामा चैत्र २२ गते देखि २४ गते सम्म उक्त शिविर सञ्चालन गर्न लागिएको जनाएको हो । 

भौगोलिक दृष्टिकोणले जिल्ला सदरमुकामबाट टाढा रहेको र जिल्ला सम्म पुग्न व्यवस्थित यातायातको सुविधा नरहेको विषयलाई मध्यनजर गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनको लागि दुई पालिकामा नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जारी विज्ञप्तिमा उल्लेख छ । 

शिविरबाट पालिकाका नागरिक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रुपमा कमजोर वर्गलाई राहत पुग्ने अपेक्षा गरिएको छ । 

उक्त शिविर हतुवागढीको केन्द्र घोडेटार बजार र आमचोक गाउँपालिकाको केन्द्र बालंखा बजारमा सञ्चालन हुन लागेको हो । हतुवागढी गाउँपालिकाले सूचना जारी गर्दै शिविरमा लाभग्राहीले आफ्नो वडा कार्यलयमा सम्पर्क गरी आवश्यक कागजात सहित सहभागी हुन अनुरोध गरेको छ ।

 सुचना अनुसार तीन दिने शिविरमा १९ गते वडा नं. १, २, ३ र २० गते वडा नं. ७, ८, ९ को सेवा प्रवाह गरिनेछ । त्यस्तै २१ गते वडा नं. ४, ५, र ६ को नागरिकका लागि सेवा प्रवाहको समय तालिका निर्धारण गरिएको जनाइएको छ ।