तराईमा हुस्सु, चिसो बढेकाले सतर्कता अपनाउन आग्रह

न्युजलय २२ मङ्सिर २०७८, बुधबार ०९:१५ मा प्रकाशित

विराटनगर । चिसो मौसम सुरु भएसँगै तराईमा हुस्सु लाग्न थालेको छ। यस वर्ष पहिलो पटक बुधबार बिहानदेखि हुस्सु लाग्न थालेको हो। 

 

पहाडी क्षेत्रमा भने मौसम खुला छ। पूर्वी हावासँगै प्रदेश १ को राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा हुस्सु लागेको हो। बिहान ६ बजेपछिदेखि मौसम धुम्मिएर हुस्सु लाग्दा आकाशमा घाम देखिएको छैन। घाम नलाग्दा विगतभन्दा केही चिसो महसुस भएको छ। 


मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार हुस्सुका कारण सवारी साधन चलाउन समस्या हुने हुँदा दुर्घटनाको जोखिम पनि धेरै हुन्छ। भिजिविलिटी कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने र दुर्घटनाको जोखिम बढेकाले सावधानी अपनाउँदै अगाडिको ‘फक्स लाइट’बालेर मात्रै गाडी कुदाउन चालकलाई आग्रह गरिएको जानकारी खड्काले दिए। 


हुस्सुका कारण तराईमा शीतलहरको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले आगामी दिनमा चिसो बढ्दै जाने बताए। 


देउजाले चिसो अत्याधिक हुँदा पारिवारिक आर्थिक अवस्था कमजोर भएकाहरु, बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित बन्ने बताए। मौसम परिवर्तनसँगै तापक्रममा गिरावट आउने हुँदा ज्यान बचाउने उपायको खोजी उत्तम विकल्प हुने उनको भनाइ छ।  


हुस्सु लाग्न थालेकाले चिसोबाट सर्वसाधारणलाई जोगाउने उपायको खोजी थालिने मोरङका प्रमुख जिल्ला काशीराज दाहालले बताए।  प्रजिअ दाहालले प्रभावित सर्वसाधारणलाई चिसोबाट बच्न दाउरा, न्याना कपडा र आवश्यक राहत सामग्री उपलब्ध गराइने जानकारी दिए।