३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणः गोरेलाई १० वर्ष जेल सजाय

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार १२:५९ मा प्रकाशित

विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई १० वर्ष कैद सजाय भएको छ। 

जिल्ला अदालत मोरङले सोमबार ‘गोरे’लाई अपहरण मुद्दामा कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो। 

त्यस्तै, अदालतले कैदसँगै सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति पनि गोरेले नै भर्नुपर्ने फैसला गरेको छ। तस्करीको सुन हराएपछि गोरे समूहबाट मोरङ उर्लाबारीका शाक्यको हत्या भएको थियो। असोज १९ गते अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भए पनि अदालतले सजायको निर्धारण गरेको थिएन।

जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक १ हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको हो।