कोशी प्रदेश नामको विरोध गर्दै बेलायतमा उभौली मनाइयो

न्युजलय २७ बैशाख २०८०, बुधबार १०:०७ मा प्रकाशित

काठमाडौं । किरात राई यायोक्खा बेलायतले सांस्कृतिक आन्दोलनको रुपमा उभौली चाड मनाएको छ ।

शनिबार, साकेला उभौली चाड (६ मेइ २०२३) को विशेष अवसर बेलायतको ग्याम्बल लेन स्थित किरात हाउसमा प्ले कार्ड सहित प्रदर्शन गरिएको हो ।

सिनियर पुर्खा रत्नबहादुर राईको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रमुख अतिथि राईले साकेला कार्यक्रम सफल भएको र आगामी दिनहरुमा पनि सफलताको शुभकामना दिँदै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमकाबीच कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै ‘नो कोशी’ लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरिएको हो । विरोध कार्यक्रम सँगै ढोल, झ्याम्टाको तालमा साकेला सिली नाच्न थालिएको हो ।

औपचारिक कार्यक्रम समापनपछि बहुभाषिक किरात राई जातिको भाषिक संस्था अथवा समुदायहरु, साम्पाङ राई, चाम्लिङ राई, बान्तवा राई आदिले भाषागत थरगत सिली प्रदर्शन गरेका थिए भने र किराया बेलायतको स्ठानीय समन्वय परिषद् ग्रेटर रसमोरको तर्फबाट पनि साकेला सिली प्रदर्शनी गरिएको थियो ।

किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालय द्धारा आयोजित यस वर्षको साकेलालाई नेपालको प्रदेश एकको नामकरणको विरोधमा उठेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै ‘नो कोशी’ थिममा आयोजना गरेको थियो ।

किराया बेलायतका अध्यक्ष चन्द्रबहादुर राईले प्रमुख अतिथि, अन्य अतिथिहरुलाई सम्बोधन गर्दै उभौली साकेला चाडको महत्व जानकारी गराएर साकेला कार्यक्रममा उपस्थित सम्पूर्ण मान्यजनहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

उभौली चाड अन्नबाली, खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस भन्ने कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । उभौली–उधौलीलाई आफन्तजन तथा इष्टमित्रसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रुपमा पनि मानिन्छ ।

उभौली र उधौली दुवै पटक चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ ।

उधौली र उभौली दुवै चाडमा किरात समुदायको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजा गर्ने चलन छ ।