श्रीमतीको हत्या गरी शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ

न्युजलय १० बैशाख २०८१, सोमबार ११:३७ मा प्रकाशित

धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवै जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन्। दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ। पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो। श्रीमान्ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए।

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको बताइएको छ । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँनले बताए। प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ। शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।