कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सोलुखुम्बुका तामाङ पक्राउ

न्युजलय २४ जेठ २०८०, बुधबार ०३:०४ मा प्रकाशित

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ घर भई काठमाडौंको स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटक–पटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेको भन्ने उजुरीको आधारमा नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ।