सल्यान । धादिङको एक इँटाभट्टामा ललाइफकाई काम गर्न लैजाँदै गरेका बन्गाडकुपिण्डे नगरपालिका–१० सादनबासका ६ बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूलाई शारदा नगरपालिका–१ श्रीनगरबाट उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु ५,७,९,११ र १३ वर्षका थिए । उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका जिल्लाका बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाएर काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका इँटाभट्टामा मजदुरी गराउन लैजाने गिरोह नै सक्रिय छ ।
आर्थिक समस्याका कारण बालबालिकाहरु मजदुरीका लागि आफैं बाहिर जान तयार हुने गरेको स्थानीय अगुवा नेबबहादुर पुनले बताए ।
अहिले बालबालिकालाई मजदुरीका लागि बाहिर पठाउने चलनै बसिसकेको बन्गाडकुपिण्डे–१० का वडाध्यक्ष मानसिं पुरीले बताए । उनका अनुसार नगरपालिकाको ८, ९, १०, ११ र १२ नम्बर वडाबाट बर्सेनि कम्तीमा २ सय बालबालिका मजदुरीका लागि बाहिर जाने गरेका छन् ।