इटहरी । जोगबनीदेखि किमांथाका जोड्ने अन्तर्राष्ट्रिय महत्वको कोशी राजमार्ग विस्तारको काम निकै ढिलोगरी अघि बढीरहेको छ । खासगरी सडकको क्षेत्राधिकार खाली गराउनमै ठूलो समय अलमल भइरहेको छ ।
त्यस्तै अलमलका कारण इटहरी चोकभन्दा उत्तरतर्फ साढे पाँच सय मिटरको क्षेत्रमा थप सडक विस्तारको लागि ‘रानी विराटनगर इटहरी धरान सडक योजना’ कार्यालयले ताकेता गरेको धेरै भइसक्यो, तर स्थानीयको अवरोधका कारण सम्भव हुन सकेको छैन ।
फुटपाथ मात्र भत्काएर यसअघि नै सो सडक खण्डमा ४० मिटर चौडा सडक कायम गरिसकिएको छ । तर राजपत्रअनुसारको ५० मिटर चौडा सडक बनाउनका लागि दाँया–बाँया थप ५–५ मिटर सडकको क्षेत्र खाली गर्नुपर्ने हुन्छ । त्यसरी सडक विस्तार गर्दा त्यस क्षेत्रका धेरैजसो घरहरु भत्कनेछन् ।
खासमा यसअघि सडक बनाउँदा नै घरहरु भत्काउनुपर्ने थियो । तर घर भत्काएर सडक बनाउनको लागि कुरिरहँदा लामो समय लाग्ने भन्दै फुटपाथको ५–५ मिटर क्षेत्र पछि विस्तार गर्ने गरी सडक विस्तार गरिएको थियो । सडक विस्तारका लागि चोक दक्षिणतर्फका घरहरुसमेत भत्काइसकिएको अवस्थामा अहिले उत्तरतर्फको बाँकी रहेको काम पुरा गर्नको लागि सडक योजना कार्यालयले इटहरी उपमहानगरपालिकालाई निरन्तर ताकेता गरिरहेको हो ।
पछिल्लो पटक कार्यालयका प्रमुख दानकुमार शाक्यले गत चैत ६ गते उपमहानगरपालिकालाई पत्र लेखेर समन्वय गरिदिन आग्रह गरेका छन् ।
यसरी पत्र आएपिच्छे इटहरी उपमहानगरपालिकालेसमेत सार्वजनिक सुचना जारी गरी सडकको क्षेत्राधिकारभित्र परेका आफ्ना घर आफै भत्काउन स्थानीयहरुलाई आग्रह गरीरहेको छ । तर अहिलेसम्म कुनै घर भत्किएका छैनन् । सडक क्षेत्रमा परेको आफ्नो घर भत्काउनुको साटो घरधनीहरु विभिन्न शक्तिकेन्द्र धाउन थालेको पाइएको छ । मन्त्री, मुख्यमन्त्रीदेखि सांसदहरुसम्मलाई घर नभत्काइदिन भन्दै लबिङ गरिरहेका छन् ।
तर इटहरी उपमहानगरपालिकाले भने सडक विस्तार गर्न आफूहरु पछि नहट्ने जनाएको छ । चोक दक्षिणका घरहरुसमेत कतिपय बल प्रयोग गरेर त कतिपय समन्वयमा भत्काएको उपमहानगरपालिकाले उत्तरतर्फका घरहरु पनि सोही तरिकाले भत्काउने तयारी गरेको छ ।
घर भत्काउने काम चाँडै सुरु गर्ने मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् । एउटै नगरमा नगरवासीलाई दुई खालको व्यवहार नगरिने बताउँदै इटहरीको तीव्र विकासका कारण पनि सडक विस्तार गर्नैपर्ने अवस्था भएको बताए ।